नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा गएको हालैको भीषण बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको प्रभावबारे भन्सार विभागसँग छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज ७ गते भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी रसुवामा आएको बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरे लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण दशैंको सिजनलाई लक्षित गरी चीनबाट आयात गरिएका ठूलो संख्याका सवारीसाधनमध्ये रसुवा नाकाबाट ल्याइँदै गरेका धेरै सवारी बाढीले बगाएको जानकारी गराए। उनले बाढीबाट प्रभावित सवारी आयातकर्तालाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियतका कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरे।
त्यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण ५०० भन्दा बढी सवारीसाधन चिनियाँ सीमाक्षेत्रमा रोकिएकोजानकारी गराउँदै ती सवारीसाधनको आवागमन तथा भन्सार प्रक्रियालाई सहज बनाउन आग्रह गरे।
मल्लले हालसम्म ११ सिटे विद्युतीय माइक्रोबसहरू भन्सारबाट छुट्न नसकेको विषय पनि उठाउँदै यसको समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरे।
छलफलका क्रममा भन्सार विभागका महानिर्देशक भुसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतको मोडालिटीबारे सम्बन्धित मन्त्रालयहरूबीच गृहकार्य भइरहेको जानकारी दिए। उनका अनुसार अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच यस विषयमा आवश्यक छलफल तथा तयारी भइरहेको छ।
उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको पनि उपस्थिति थियो।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
