नेभिगेशन
स्थानीय समाचार

नेपालभर उल्लेखनीय सहभागितासहित सम्पन्न भयो डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६

पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड (DGR) २०२६ नेपालका विभिन्न सहरमा सम्पन्न भएको छ। काठमाडौं, चितवन, पोखरा, बुटवल, हेटौंडा र इटहरीमा आयोजित राइडमा ७०० भन्दा बढी रेट्रो तथा मोडर्न–रेट्रो मोटरसाइकल राइडरहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

FORE Nepal ले Triumph Motorcycles नेपालसँगको सहकार्यमा आयोजना गरेको यस कार्यक्रममा पुरुषहरूको मानसिक स्वास्थ्य, भावनात्मक सुस्वास्थ्य तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो। सहभागीहरूले विश्वव्यापी DGR कोषसंकलन अभियानअन्तर्गत संयुक्त रूपमा एक हजार अमेरिकी डलरभन्दा बढी सहयोग संकलन गरेका छन्।

सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको DGR अहिले १०० भन्दा बढी देशमा आयोजना हुँदै आएको विश्वव्यापी अभियान हो। क्लासिक तथा भिन्टेज मोटरसाइकल संस्कृतिमार्फत पुरुष स्वास्थ्यसम्बन्धी विषयमा खुला संवादलाई प्रोत्साहन गर्नु यस अभियानको मुख्य उद्देश्य मानिन्छ।

यस वर्ष नेपालमा कार्यक्रमको दायरा विस्तार भएको देखिएको छ। काठमाडौंमा २०० भन्दा बढी, चितवनमा १५० भन्दा बढी तथा पोखरा, इटहरी, बुटवल र हेटौंडामा पनि उल्लेखनीय संख्यामा राइडरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूतको उपस्थितिले पनि विशेष महत्व पाएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो। TPO Nepal की मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विशेषज्ञ करुणा क्षेत्रीले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा लिनुपर्नेमा जोड दिँदै यस्ता अभियानहरूले पुरुषहरूलाई आफ्ना भावना र चुनौतीबारे खुलेर संवाद गर्न प्रेरित गर्ने बताइन्।

FORE Nepal का अध्यक्ष सुनील मानन्धरले पछिल्ला वर्षहरूमा DGR नेपालमा सहभागिता र पहुँच दुवै बढ्दै गएको उल्लेख गर्दै विभिन्न सहरमा एकसाथ कार्यक्रम विस्तार हुनु अभियानका लागि सकारात्मक संकेत भएको बताए। यस्तै, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले पुरुष स्वास्थ्यसँग सम्बन्धित विश्वव्यापी अभियानमा नेपालका राइडरहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको प्रतिक्रिया दिए।

आयोजकका अनुसार आगामी संस्करणहरूमा DGR नेपाललाई थप सहर र समुदायसम्म विस्तार गर्ने योजना रहेको छ। साथै, कोष संकलन, जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउने तयारी समेत गरिएको जनाएको छ।

प्रकाशित मिति: