नेभिगेशन
स्थानीय समाचार

नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ

Shangrila Motors Pvt. Ltd. ले नेपालमा Leapmotor B03X Pro Max कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। यससँगै नेपालमा बढ्दो विद्युतीय सवारी बजारमा Leapmotor को उपस्थिति थप विस्तार भएको छ।

Leapmotor B03X Pro Max को मूल्य पहिलो १०० ग्राहकका लागि ४४.९९ लाख रुपैयाँ तोकिएको छ भने त्यसपछि यसको मूल्य ४६.९९ लाख रुपैयाँ हुनेछ। देशभरका शोरुममा गाडीको अवलोकन तथा बुकिङ खुला गरिएको छ।

B03X Pro Max मा ५३ kWh LFP ब्याट्री र १४५ kW क्षमताको फ्रन्ट-ह्विल ड्राइभ इलेक्ट्रिक मोटर दिइएको छ। यसले एकपटक चार्जमा CLTC अनुसार ५०५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। त्यस्तै, एसयूभीमा १९० मिमी ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपालको विविध सडक अवस्थाका लागि यसलाई थप व्यावहारिक बनाउने अपेक्षा गरिएको छ।

B03X Pro Max मा १८ इन्च एलोय ह्विल दिइएको छ। इन्टेरियरमा ८.८ इन्च LCD इन्स्ट्रुमेन्ट प्यानल तथा १४.६ इन्च 2K टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। यसबाहेक एसयूभीमा ३६० डिग्री ड्यास-क्याम रेकर्डिङ, रियर वाइपर तथा डिफगर, स्पेयर ह्विल र Level 2 ADASजस्ता फिचर उपलब्ध छन्।गाडीमा ग्राहकको रोजाइअनुसार पाँचवटा एक्स्टेरियर कलर विकल्प समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

लन्च कार्यक्रममा Shangrila Motors का निर्देशक हेमन्त गोल्छाले B03X को आगमन नेपालमा विद्युतीय मोबिलिटीको विकासतर्फ महत्वपूर्ण कदम भएको बताएका थिए। उनका अनुसार कम्पनीले स्मार्ट तथा दिगो ड्राइभिङ अनुभवका लागि नयाँ विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ।

नेपालमा Leapmotor ले हाल T03, B10 र C10 बिक्री गर्दै आएको छ। B03X Pro Max को आगमनसँगै कम्पनीको नेपाली बजारमा इलेक्ट्रिक गाडीको पोर्टफोलियो थप विस्तार भएको छ।

५३ kWh LFP ब्याट्री, १४५ kW मोटर, ५०५ किलोमिटर दाबी गरिएको रेन्ज, १९० मिमी ग्राउन्ड क्लियरेन्स र Level 2 ADAS सहित B03X Pro Max ले ५० लाख रुपैयाँभन्दा कम मूल्यका इलेक्ट्रिक एसयूभीको बजारमा नयाँ प्रतिस्पर्धा थपेको छ।

प्रकाशित मिति: