इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) ले नेपाली बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै ग्राहकहरूलाई मोटरसाइकलको बल्क डेलिभरी सुरु गरेको छ।
नेपालका लागि मोर्बिडेलीको आधिकारिक वितरकका अनुसार, ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै पहिलो चरणको बल्क डेलिभरी सुरु गरिएको हो। छोटो अवधिमै मोर्बिडेलीले नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो स्थान बनाउन थालेको कम्पनीले जनाएको छ।
मोर्बिडेलीका मोटरसाइकलप्रति ग्राहकहरूले यसको डिजाइन, इन्जिन प्रदर्शन, सुरक्षा प्रविधि र आरामदायी राइडिङ अनुभवलाई मुख्य रूपमा रुचाएको कम्पनीको भनाइ छ। नेपाली बजारमा प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलप्रतिको बढ्दो रुचिबीच मोर्बिडेलीले आफ्नो लाइनअप विस्तार गर्दै लगेको छ।
यसैबीच, मोर्बिडेली नेपालले आगामी NAIMA Nepal Mobility Expo 2026 मा नयाँ एड्भेन्चर मोटरसाइकल Morbidelli T250X सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
T250X मोर्बिडेलीको नेपालका लागि सबैभन्दा अफोर्डेबल एड्भेन्चर मोटरसाइकल बन्ने अपेक्षा गरिएको छ। हलुका डुअल-पर्पस मोटरसाइकलको रूपमा आउने यो मोडल सहरभित्रको दैनिक आवतजावतदेखि विकेन्ड ट्रेल राइडिङसम्मका लागि लक्षित गरिएको छ।
T250X मा २४९ सीसी, सिंगल-सिलिन्डर, एयर-कुल्ड, SOHC फोर-स्ट्रोक इन्जिन प्रयोग गरिएको छ। आधुनिक एड्भेन्चर मोटरसाइकलहरूमा देखिने जटिल इलेक्ट्रोनिक प्रणालीभन्दा फरक, मोर्बिडेलीले यसमा सरल मेकानिकल सेटअपलाई प्राथमिकता दिएको छ। इन्जिनमा कार्ब्युरेटर प्रयोग गरिएको छ, जसले मर्मतसम्भारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
यो इन्जिनले ७,५०० आरपीएममा २२.४ एचपी पावर र ६,००० आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ। कार्ब्युरेटेड सेटअप विशेषगरी दुर्गम क्षेत्रहरूमा यात्रा गर्ने राइडरहरूका लागि सरल र व्यवहारिक विकल्प हुन सक्छ।
T250X को आगमनसँगै नेपालमा मोर्बिडेलीको एड्भेन्चर मोटरसाइकल पोर्टफोलियो थप विस्तार हुनेछ। हाल कम्पनीको नेपाली बजारमा फ्ल्यागसिप मोडल T1002VX रहेको छ, जसको मूल्य रु. ४४,९९,९०० रहेको छ। त्यस्तै, T502X को मूल्य रु. १३,४९,९००, T352X र F352 को मूल्य रु. ९,९६,९०० तथा इन्ट्री-लेभल क्रुजर C252V को मूल्य रु. ९,६९,९०० रहेको छ।
NAIMA Nepal Mobility Expo 2026 मा हुने T250X को सार्वजनिकले नेपालको बढ्दो एड्भेन्चर मोटरसाइकल बजारमा मोर्बिडेलीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।
NAIMA Nepal Mobility Expo 2026 भोलिदेखि, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै
नेपालमा Leapmotor B03X Pro Max सार्वजनिक; पहिलो १०० ग्राहकका लागि मूल्य ४४.९९ लाख रुपैयाँ
GWM Jolion Max EV NAIMA Nepal Mobility Expo 2026 मा प्रदर्शन हुन सक्ने
