नेभिगेशन
स्थानीय समाचार

BAIC BJ30 हाइब्रिड एसयूभी अगस्ट १० मा नेपालमा लन्च हुँदै

नेपालको बढ्दो एसयूभी बजारमा नयाँ ब्रान्ड प्रवेश गर्ने तयारीमा छ। BAIC BJ30 हाइब्रिड एसयूभी आगामी अगस्ट १०, २०२६ मा नेपालमा लन्च हुने भएको छ। लन्चअघि नै यो एसयूभी काठमाडौंका सडकमा परीक्षणका क्रममा देखिएको छ, जसले यसको नेपाल आगमनको संकेत दिएको थियो।

BAIC-BJ30-Spotted-Nepal-1785746672.jpg

चीनको पुरानो अटोमोबाइल निर्माता BAIC (Beijing Automotive Industry Holding Co., Ltd.) ले लक्ष्मी मोटरहब, लक्ष्मी ग्रुप मार्फत नेपाली प्यासेन्जर भेहिकल बजारमा प्रवेश गर्न लागेको हो। BJ30 नेपालमा आउने BAIC को पहिलो प्यासेन्जर मोडल हुनेछ।

बलियो एसयूभी डिजाइन र हाइब्रिड प्रविधिसहित आउने BJ30 लाई लाइफस्टाइल एसयूभीको रूपमा प्रस्तुत गरिएको छ। यसमा BAIC को सिग्नेचर फाइभ-स्लट ग्रिल, एलईडी हेडलाइट, स्क्वायर ह्विल आर्च, रूफ रेल र १८ इन्च डुअल-टोन अलोय ह्विल दिइएको छ।

BAIC-BJ30-Nepal-1-1785746243.jpg

BJ30 को लम्बाइ ४,७३० mm, चौडाइ १,९१० mm, उचाइ १,७९० mm र ह्विलबेस २,८२० mm रहेको छ। यसले फराकिलो पाँच सिट क्षमताको केबिन प्रदान गर्छ। नेपालमा BJ30 लाई BAIC को Magic Core DHEV हाइब्रिड पावरट्रेन सहित ल्याउने अपेक्षा गरिएको छ। यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, इलेक्ट्रिक मोटर र २-स्पिड Dedicated Hybrid Transmission (DHT) रहनेछ।

BAIC-BJ30-Nepal-3-1785746260.jpg

अल-ह्विल ड्राइभ संस्करणमा यो हाइब्रिड सिस्टमले ४०९ hp पावर र ६८५ Nm टर्क उत्पादन गर्छ। यसमा Comfort, Economy, Sport र Snow जस्ता ड्राइभिङ मोडसँगै Mud, Sand र Wading मोड पनि उपलब्ध छन्। २१५ mm ग्राउन्ड क्लियरेन्स र Intelligent ATS अल-टेरेन सिस्टमका कारण BJ30 ले सामान्य सडकबाहेक कठिन भूभागमा पनि थप क्षमता प्रदान गर्ने दाबी गरिएको छ।

BAIC-BJ30-Nepal-4-1785746275.jpg

इन्टेरियरमा BJ30 ले आधुनिक प्रविधि समेटेको छ। यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्च इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ। साथै, V2L (Vehicle-to-Load) क्षमता, फोल्ड गर्न मिल्ने युटिलिटी टेबल र ठूलो कार्गो स्पेस जस्ता फिचरले यसलाई एड्भेन्चर प्रयोगका लागि उपयुक्त बनाउँछ।

सन् १९५८ मा स्थापना भएको BAIC चीनका पुराना अटोमोबाइल समूहहरूमध्ये एक हो। कम्पनीले मर्सिडिज-बेन्ज र हुन्डाईसँग संयुक्त लगानीमा समेत काम गर्दै आएको छ। अगस्ट ६ मा हुने लन्चसँगै BAIC BJ30 नेपालमा प्रवेश गर्नेछ र बढ्दो हाइब्रिड तथा एसयूभी बजारमा नयाँ विकल्प थपिनेछ।

प्रकाशित मिति: