नेभिगेशन
स्थानीय समाचार

बजाज चेतकका दुई नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा डेब्यु हुँदै, NAIMA Mobility Expo 2026 मा सार्वजनिक हुने

नेपालमा बजाज चेतक इलेक्ट्रिक स्कुटरको लाइनअप विस्तार हुने भएको छ। बजाज अटोले आगामी अगस्टमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६  मा दुई नयाँ चेतक मोडलहरू — Bajaj Chetak C2501 र Chetak C3503 — सार्वजनिक गर्ने तयारी गरेको छ।

नयाँ मोडलमध्ये बजाज चेतक C2501 लाई तुलनात्मक रूपमा सस्तो संस्करणका रूपमा हेरिएको छ। यसमा २.५ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ भने यसले एक पटकको चार्जमा ११३ किलोमिटरसम्मको IDC प्रमाणित रेन्ज दिने दाबी गरिएको छ।

स्कुटरको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहने र पूर्ण चार्ज गर्न करिब ४ घण्टा लाग्ने बताइएको छ। दैनिक आवतजावतका लागि लक्षित यो मोडल बजाज चेतकको पहुँच विस्तार गर्ने उद्देश्यले ल्याउन लागिएको अनुमान गरिएको छ।

त्यस्तै, Bajaj Chetak C3503 लाई भने प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा राखिने अपेक्षा गरिएको छ। यसमा ३.५ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ, जसले १५३ किलोमिटरसम्मको IDC रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।

C3503 मा डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी तथा अन्य आधुनिक फिचरहरू समावेश हुने अपेक्षा गरिएको छ। यो हाल नेपालमा बिक्री हुँदै आएको चेतक 3501 भन्दा नयाँ विकल्पका रूपमा आउने सम्भावना छ।

हाल बजाज नेपालको इलेक्ट्रिक स्कुटर लाइनअपमा चेतक 3501 मात्र उपलब्ध छ। यसको मूल्य नेपालमा रु ३.६४ लाख रहेको छ। प्रिमियम इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा रहेको चेतक 3501 ले १५३ किलोमिटरसम्मको IDC रेन्ज दिने र ०–८० प्रतिशत चार्ज हुन करिब ३ घण्टा लाग्ने दाबी गरिएको छ।

बजाज नेपालले नयाँ मोडलहरूको आधिकारिक पुष्टि वा मूल्य सार्वजनिक गरेको छैन। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै गर्दा यी दुई नयाँ चेतक मोडलको नेपाली बजार प्रवेशबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: