नेभिगेशन
स्थानीय समाचार

इनड्राइभ ड्राइभिङ नारी नेपाल: नेपालमा महिला चालकको संख्या बढाउने इनड्राइभको पहल

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive ले नेपालमा सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो ब्याच सफलतापूर्वक सम्पन्न गरेको छ। महिलालाई व्यावसायिक चालकका रूपमा अघि बढाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत १० महिलाले तीन महिनाको तालिम पूरा गर्दै प्रमाणपत्र प्राप्त गरेका छन्।

अप्रिल २०२६ मा सुरु गरिएको यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई लक्षित गर्दै तयार गरिएको हो। परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउने, उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा सुरक्षित रूपमा दुईपाङ्ग्रे सवारी सञ्चालन गर्न आवश्यक सीप, आत्मविश्वास र स्रोत उपलब्ध गराउने यसको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले दुईपाङ्ग्रे सवारी सञ्चालनको व्यावहारिक तालिमसँगै सडक सुरक्षासम्बन्धी विस्तृत प्रशिक्षण प्राप्त गरेका थिए। उनीहरूलाई चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने सम्पूर्ण प्रक्रियामा पनि सहयोग गरिएको थियो। प्रत्येक सहभागीलाई सुरक्षाका लागि हेल्मेट, प्राथमिक उपचार सामग्री र मेडिकल किट प्रदान गरिएको थियो।

व्यक्तिगत सुरक्षालाई पनि कार्यक्रममा विशेष प्राथमिकता दिइएको थियो। यसका लागि FightBack Nepal सँगको सहकार्यमा आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सम्भावित जोखिमपूर्ण परिस्थितिमा कसरी सुरक्षित रहने भन्ने व्यावहारिक ज्ञान र आत्मविश्वास विकास गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

समापन समारोहमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिल जंग शाहले सडक सुरक्षा सबै चालकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न, सतर्क भएर सवारी चलाउन र अनुभवसँगै निरन्तर सिक्दै जान सहभागीहरूलाई आग्रह गरे।

inDrive-Driving-Cohort-Nepal-2-1785218156.jpg

कम्पनीका अनुसार यो कार्यक्रमले महिलालाई केवल रोजगारीको अवसर मात्र होइन, स्वतन्त्र आवागमनको माध्यम पनि प्रदान गर्छ। दुईपाङ्ग्रे सवारी सञ्चालन गर्न सक्ने क्षमता भएपछि उनीहरूले काम, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य आवश्यक गन्तव्यमा सहज पहुँच प्राप्त गर्न सक्नेछन्।

साथै, साँघुरा सडक र अन्तिम गन्तव्यसम्म सहज पहुँच हुने भएकाले दुईपाङ्ग्रे राइड–हेलिङ सेवा यात्रुका लागि पनि उपयोगी विकल्प बन्ने विश्वास कम्पनीको छ।

काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा सरकारी निकाय, साझेदार संस्था, सञ्चारमाध्यम तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वस्तिमा खड्का ले सहभागीहरूलाई प्रमाणपत्र तथा सुरक्षा सामग्री हस्तान्तरण गरिन्। साथै, एक सहभागीले विद्युतीय स्कुटर, तीन जनाले स्मार्टफोन र बाँकी छ जनाले स्मार्टवाच पुरस्कारस्वरूप प्राप्त गरेका छन्।

इनड्राइभ दक्षिणपूर्वी एसियाकी कम्युनिकेसन्स म्यानेजर शेरिन इरविना कौरका अनुसार धेरै बजारमा महिला यात्रुहरूको संख्या उल्लेख्य भए पनि महिला चालकको संख्या अत्यन्त न्यून छ। नेपालमा सुरु गरिएको यो कार्यक्रमले तालिम, लाइसेन्स र प्लेटफर्म पहुँचलाई एउटै प्रक्रियामा जोडेर महिलालाई व्यावसायिक चालक बन्ने अवसर दिएको बताउँदै उनले भविष्यमा अन्य देशहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिइन्।

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले महिलालाई तालिम दिनु मात्र पर्याप्त नभई सामाजिक सोच परिवर्तन गर्नु पनि उत्तिकै आवश्यक रहेको बताइन्। उनका अनुसार ‘ड्राइभिङ नारी नेपाल’ ले महिलालाई लाइसेन्स, आत्मविश्वास, पारिवारिक सहयोग र आम्दानीका अवसरसम्म पुग्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउँछ।

त्यस्तै, इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसालिस्ट सुनिता जीमी राईले यस कार्यक्रमले महिला चालकका लागि अझ समावेशी र सहयोगी वातावरण निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन्। ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले पनि यस पहलले समान अवसर र सामाजिक परिवर्तनप्रति इनड्राइभको प्रतिबद्धता झल्काउने बताइन्।

प्रकाशित मिति: