नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। आज आयोजित उद्घाटन समारोहसँगै देशकै महत्वपूर्ण पूर्वाधार परियोजनाले नयाँ चरणमा प्रवेश गरेको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले जापानी राजदूत माएदा तोरु तथा Japan International Cooperation Agency (JICA) का अध्यक्ष डा. तानाका अकिहिको को उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–दहाचोकलाई धादिङको सिस्नेखोलासँग जोड्ने यो सुरुङमार्गले काठमाडौं उपत्यका प्रवेश गर्ने सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक नागढुङ्गा क्षेत्रको यातायात व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले ट्राफिक चाप घटाउनुका साथै यात्रा समय कम गर्ने र हालको नागढुङ्गा सडक खण्डको सुरक्षित विकल्प प्रदान गर्नेछ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यो परियोजनाले नेपालमा सुरुङमार्ग आधारित पूर्वाधार विकासको नयाँ चरण सुरु गरेको बताए। उनले भविष्यमा देशका अन्य क्षेत्रमा पनि यस्ता परियोजना विस्तार गरिने उल्लेख गरे।
पूर्ण सञ्चालनअघि तीन महिनाको परीक्षण अवधि
सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भए पनि तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। परियोजना अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य आपतकालीन सेवाका सवारीसाधन मात्र सञ्चालन गर्न अनुमति दिइनेछ।

सुरुङमार्गमा करिब तीन महिनाको परीक्षण सञ्चालन (Trial Operation) गरिनेछ। यस अवधिमा सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र समग्र सञ्चालन प्रक्रियाको परीक्षण गरिनेछ। परीक्षणको परिणाम मूल्याङ्कनपछि क्रमशः अन्य सवारीसाधनका लागि पनि खुला गरिनेछ।
परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क लिइने छैन।
नियमित सञ्चालनपछि लागू हुनेछ टोल शुल्क
व्यावसायिक सञ्चालन सुरु भएपछि सवारीसाधनको प्रकारअनुसार टोल शुल्क लागू हुनेछ।
सडक विभागले प्रस्ताव गरेको टोल दरअनुसार:
- कार, भ्यान, पिकअप तथा अन्य हलुका सवारीसाधन: काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ
- मिनिबस, मिनी ट्रक तथा टिपर: प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ
- बस तथा ठूला ट्रक: प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ
- मल्टि–एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीसाधन: प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ
सुरक्षा कारणले मोटरसाइकल, स्कुटर, तीनपांग्रे सवारी, पैदलयात्री तथा ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङ प्रयोगमा रोक लगाइएको छ।

काठमाडौं–धादिङ यात्रा अझ छोटो हुने
कुल २.६८८ किलोमिटर लामो यो सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहाचोकको टोटीपाखाबाट सुरु भएर धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलासम्म पुग्छ।
यो परियोजनाले हालको नागढुङ्गा सडक खण्डलाई बाइपास गर्नेछ, जहाँ उकालो बाटो, साँघुरो सडक र भारी सवारीसाधनको चापका कारण पटक–पटक लामो जाम हुने गरेको छ।
अधिकारीहरूका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा समय करिब ३३ मिनेट र उपत्यकाबाट बाहिरिने सवारीसाधनको यात्रा समय करिब २३ मिनेट ले घट्नेछ। सिस्नेखोला र बलम्बुबीचको दूरी पनि घट्नेछ। हाल करिब ८ किलोमिटर रहेको सडक दूरी घटेर करिब ५ किलोमिटरमा सीमित हुनेछ।

आधुनिक सुरक्षा प्रणालीसहित निर्माण
सुरुङमार्गमा मुख्य यातायात सुरुङसँगै छुट्टै रेस्क्यु सुरुङ निर्माण गरिएको छ, जसले आपतकालीन अवस्थामा उद्धार कार्यलाई सहज बनाउनेछ।
मुख्य सुरुङको लम्बाइ २,६८८ मिटर रहेको छ भने रेस्क्यु सुरुङ २,५५७ मिटर लामो छ। दुवै सुरुङलाई जोड्न सातवटा Cross Passage निर्माण गरिएको छ, जसले दुर्घटना वा आपतकालीन अवस्थामा सुरक्षित पहुँच प्रदान गर्नेछ।
सुरुङमा आधुनिक सुरक्षा प्रणालीअन्तर्गत: Ventilation System, Jet Fan, CCTV Monitoring, Communication System, Emergency Response Facility जस्ता सुविधा समावेश गरिएको छ।

करिब २५ अर्ब रुपैयाँ लगानी
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो। यस परियोजनामा करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। जसमध्ये: करिब १७ अर्ब रुपैयाँ निर्माण कार्यमा, करिब २ अर्ब रुपैयाँ विनिमय दर परिवर्तन तथा निर्माण लागत वृद्धिका कारण, करिब ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहण र मुआब्जामा खर्च भएको छ। परियोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

निर्माणदेखि सञ्चालनसम्म सात वर्षको यात्रा
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले सन् २०१९ अक्टोबरमा गरेका थिए। मुख्य सुरुङको ‘ब्रेकथ्रु’ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा सन् २०२४ अप्रिलमा सम्पन्न भएको थियो।
यो परियोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी, प्राविधिक चुनौती तथा अन्य समस्याका कारण निर्माण अवधि लम्बिएको थियो।
जापानी निर्माण कम्पनी Hazama Ando Corporation ले निर्माण गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले भविष्यका सुरुङ आधारित पूर्वाधार परियोजना र आधुनिक सडक सञ्जाल विकासका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ।
Photos: Nepal Photo Library
इनड्राइभ ड्राइभिङ नारी नेपाल: नेपालमा महिला चालकको संख्या बढाउने इनड्राइभको पहल
Vida ले नेपालबाट गर्यो Global Debut, VX2 Electric Scooter र Dirt.E K3 सार्वजनिक
TVS ले नेपालमा ल्यायो नयाँ Electric Scooter Orbiter, मूल्य २.८१ लाख रुपैयाँ

