नेभिगेशन
स्थानीय समाचार

४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुँदै, साउन २६ देखि सुरु हुँदै NAIMA Nepal Mobility Expo 2026

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले दोस्रो संस्करणको NAIMA Nepal Mobility Expo 2026 आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुन लागेको यस वर्षको एक्स्पोमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिनेछन्। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी, चार्जिङ प्रविधि, मोबिलिटी सेवा तथा अन्य सम्बन्धित उत्पादनहरू प्रदर्शन गरिनेछन्।

४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने कार्यक्रम रहेकाले यस वर्षको एक्स्पो विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। तीमध्ये Chery Q Electric Crossover, Tata Punch EV, Wuling Eksion EV, Leapmotor B03X, Proton e.MAS 5 र BAIC Arcfox T1 जस्ता नयाँ मोडल सार्वजनिक हुने तयारीमा छन्। यसबाहेक विभिन्न ब्रान्डका विद्युतीय तथा हाइब्रिड सवारी, मोटरसाइकल, कमर्सियल भेहिकल तथा अत्याधुनिक मोबिलिटी प्रविधिहरू पनि प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ।

NAIMA का अनुसार संस्था स्थापना भएको एक वर्षमै सदस्य संख्या २१ बाट बढेर ३६ पुगेको छ। संस्थाले एक्स्पो आयोजना गर्नुका साथै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, क्षमता अभिवृद्धि तालिम, सरकारी निकायसँगको सहकार्य तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका विषयमा पनि सक्रिय रूपमा काम गर्दै आएको जनाएको छ।

यसअघि NAIMA ले NAIMA Mobility Journal, NAIMA Monthly Mobility Sambaad तथा NAIMA Capacity Building Training Sessions जस्ता कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ। साथै, एक्स्पोबाट संकलित टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रम मा खर्च गरिनेछ। फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू NAIMA Mobility Journal मा प्रकाशित गरिने जनाइएको छ।

स्थान अभावका कारण यस वर्ष केही इच्छुक कम्पनीलाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै NAIMA ले आगामी दिनमा व्यावसायिक सवारीसाधन केन्द्रित छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको जनाएको छ।

आगन्तुकको सहजतालाई ध्यानमा राख्दै मनसुनअनुकूल व्यवस्थापन, अपाङ्गतामैत्री पूर्वाधार तथा नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध गराइनेछ। पठाओ ले राइड पार्टनरका रूपमा एक्स्पो अवधिभर छुटसहितको यात्रा सुविधा दिनेछ भने युनियन पे मार्फत क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याक सुविधा उपलब्ध हुनेछ।

यस वर्षको एक्स्पोको अर्को विशेष आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित अडिटोरियम हलमा सञ्चालन हुने निःशुल्क लर्निङ सेसनहरू रहनेछन्। विज्ञ, उद्योगका प्रतिनिधि, शिक्षाविद् तथा नीति निर्माताको सहभागितामा सञ्चालन हुने यी सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे छलफल हुनेछ।

एक्स्पोमा बैंक, बीमा कम्पनी, चार्जिङ समाधान प्रदायक, प्रविधि कम्पनी तथा विभिन्न सेवा प्रदायकहरूको पनि सहभागिता रहनेछ। ग्लोबल आईएमई बैंक को-स्पोन्सरका रूपमा रहेको छ भने रेड बुल नेपाल पावर्ड बाइ स्पोन्सर तथा बेभरेज पार्टनरका रूपमा आबद्ध छ। यसका अतिरिक्त एनएमबी बैंक, सिद्धार्थ बैंक, बोस नेपाल, आईएमई खल्ती, वर्ल्डलिंक, नर्भिक इन्टरनेसनल अस्पताल लगायतका विभिन्न संस्थाहरू साझेदारका रूपमा रहनेछन्।

NAIMA Nepal Mobility Expo 2026 ले नयाँ सवारी सार्वजनिक गर्ने मञ्च मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका पछिल्ला प्रविधि, सेवा, उद्योगको दिशा तथा भविष्यबारे जानकारी दिने साझा प्लेटफर्मका रूपमा पनि भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: