हीरो मोटोकर्प ले नेपालमा Xpulse 210 को बुकिङ औपचारिक रूपमा खुला गरेको छ। नेपालमा यसको सुरुवाती (Introductory) मूल्य रु ५.९९ लाख निर्धारण गरिएको छ।
नाडा अटो शो २०२५ मा पहिलो पटक प्रदर्शन गरिएको यो मोटरसाइकल अब लामो समयको प्रतिक्षापछि नेपाली बजारमा प्रवेश गरेको हो। यो मोडेल लोकप्रिय एक्सपल्स २०० ४भी को अपग्रेड संस्करण हो, जसले नेपालमा पहिले नै राम्रो बजार हिस्सा बनाइसकेको छ।
एक्सपल्स २१० मा २१० सीसी, सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड, ४-भल्भ इन्जिन प्रयोग गरिएको छ, जसले २४.६ बीएचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ। यसमा ६-स्पिड गियरबक्स दिइएको छ, जसले हाईवे क्रुजिङलाई राम्रो बनाउनुका साथै अफ-रोड अवस्थाका लागि पनि उपयुक्त प्रदर्शन दिने अपेक्षा गरिएको छ।
डिजाइनका हिसाबले यसमा राउन्ड एलईडी हेडलाइट, ट्रान्सपरेन्ट भिजर, एलईडी इन्डिकेटर, ट्युबुलर ह्यान्डलबार र सिंगल-पीस सिट समावेश छ। साथै फुल एलईडी लाइटिङ सेटअप र ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर पनि दिइएको छ, जसले स्मार्टफोन कनेक्टिभिटी सहित स्पीड, गियर पोजिसन, ट्याकोमिटर र ओडोमिटर जस्ता जानकारी देखाउँछ।
सस्पेन्सन सेटअपमा अगाडि २१० मिमी ट्राभल भएको टेलिस्कोपिक फोर्क र पछाडि २०५ मिमी ट्राभल भएको मोनोशक प्रयोग गरिएको छ। बाइक २१ इन्च अगाडि र १८ इन्च पछाडिको स्पोक ह्वीलमा आधारित छ, जसमा ब्लक-प्याटर्न ट्युब्ड टायर लगाइएको छ। ब्रेकिङका लागि अगाडि र पछाडि डिस्क ब्रेकसँगै डुअल-च्यानल एबीएस दिइएको छ।
एक्सपल्स २०० ४भी नेपालमा यसको आकर्षक मूल्य र अफ-रोड क्षमताका कारण सफल मोडेल रहँदै आएको छ। एक्सपल्स २१० ले भने बढी पावर, सुधारिएको हाईवे क्षमतासँगै अपडेटेड फिचरहरू सहित त्यो सफलतालाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।
सुजुकी eVitara नेपालमा रु १ लाखले सस्तो, सुरुवाती मूल्य अब रु ४८.९९ लाख
Proton e.MAS 5 नेपालमा छिट्टै आउने; मलेसियामा टप सेलिंग EV
नयाँ EV कर नीतिपछि BMW iX1 को मूल्यमा रु. १.३० करोड वृद्धि



