नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक Laxmi Premium Motors ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिअनुसार BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको जनाएको छ।
कम्पनीका अनुसार BMW iX1 eDrive20 को मूल्य रु. १ करोड ९९ लाख ९६ हजारबाट बढेर रु. ३ करोड २९ लाख ९६ हजार पुगेको छ। यससँगै उक्त मोडेलको मूल्यमा रु. १ करोड ३० लाखको उल्लेखनीय वृद्धि भएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने कर संरचनामा परिवर्तन गरेपछि BMW का EV मोडेलहरूको मूल्य बढेको हो। नयाँ व्यवस्थाअनुसार अब EV मा लाग्ने कर मोटरको क्षमताका आधारमा नभई सवारीको आयात मूल्यका आधारमा निर्धारण गरिने व्यवस्था गरिएको छ।
उद्योगका जानकारहरूका अनुसार यस नीतिले विशेषगरी उच्च मूल्यका प्रिमियम तथा लक्जरी विद्युतीय सवारीसाधनलाई प्रत्यक्ष प्रभाव पारेको छ। परिणामस्वरूप BMW लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रिमियम EV ब्रान्डका गाडीहरूको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
BMW iX1 eDrive20 मा 64.78 kWh क्षमताको ब्याट्री प्याक उपलब्ध छ, जसले WLTP मापदण्डअनुसार ४३० किलोमिटरदेखि ४७५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा BMW को eDrive प्रविधि प्रयोग गरिएको छ। गाडीले 150 kW शक्ति र 250 Nm टर्क उत्पादन गर्ने क्षमता राख्छ भने ० देखि १०० किमी प्रतिघण्टाको गति मात्र ८.६ सेकेन्डमा हासिल गर्न सक्छ।
BMW iX1 मात्र नभई BMW का अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि नयाँ कर संरचनाअनुसार समायोजन गरिएको कम्पनीले जनाएको छ। विभिन्न मोडेलमा करको प्रभाव र आयात मूल्यका आधारमा फरक–फरक दरले मूल्य वृद्धि गरिएको बताइएको छ।
सुजुकी eVitara नेपालमा रु १ लाखले सस्तो, सुरुवाती मूल्य अब रु ४८.९९ लाख
हीरो Xpulse २१० को नेपालमा बुकिङ खुला
Proton e.MAS 5 नेपालमा छिट्टै आउने; मलेसियामा टप सेलिंग EV



